बारबर्दिया, बर्दिया । राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) गुलरियाद्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (ASRHR) परियोजनाले किशोरकिशोरीको स्वास्थ्य, शिक्षा र सचेतनाका क्षेत्रमा सकारात्मक प्रभाव पारेको सामाजिक परीक्षणबाट देखिएको छ।
बारबर्दिया नगरपालिकामा बिहीबार गरिएको सामाजिक परीक्षणमा परियोजनाअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, समुदाय र स्थानीय तहमा सञ्चालन गरिएका कार्यक्रम तथा त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी गराइएको थियो। सामाजिक परीक्षण कृष्णप्रसाद पाण्डेय एडभान्स ट्रेनिङ कन्सल्टेन्सी, गुलरियाले गरेको हो।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा सचेत गराउने कार्यक्रम प्रभावकारी भएको बताउनुभयो। उहाँले किशोरीहरूका लागि सञ्चालन गरिएको दौतरी शिक्षा प्रभावकारी हुनुका साथै यसले समुदायमा समेत सकारात्मक प्रभाव पारेको बताउनुभयो।
नगरप्रमुख थारुले परियोजनामार्फत निर्माण गरिएका शौचालयलगायतका भौतिक संरचना राम्रो रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
परियोजनाले विद्यालय तहमा बृहत् यौनिकता शिक्षा, दौतरी शिक्षा, सूचना तथा सञ्चार सामग्री वितरण, शिक्षक तालिम, स्वास्थ्यकर्मीमार्फत आउटरिच सेवा तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। त्यसैगरी किशोरकिशोरीमैत्री शौचालय, हात धुने स्थान, सूचना कक्ष र महिनावारी आराम कक्ष निर्माणमा समेत सहयोग गरेको छ।
सामाजिक परीक्षणअनुसार परियोजनाबाट हालसम्म दुई वटा किशोरकिशोरीमैत्री भवन, तीन वटा किशोरकिशोरी तथा अपाङ्गमैत्री शौचालय तथा हात धुने स्थान, तीन वटा महिनावारी आराम कक्ष र तीन वटा किशोरकिशोरीमैत्री सूचना कक्ष निर्माण भएका छन्।
परियोजनाको प्रभावका रूपमा महिनावारीका कारण विद्यालय छाड्ने समस्या घटेको र विद्यार्थीको उपस्थितिमा सुधार आएको पाइएको छ। नवज्योति आधारभूत विद्यालयको तथ्यांकअनुसार कक्षा ८ मा अध्ययनरत १८ छात्रामध्ये तीन जना महिनावारीका कारण नियमित कक्षा छाड्ने गरेकोमा अहिले यस्तो समस्या न्यून भएको सामाजिक परीक्षणमा उल्लेख छ।
त्यस्तै, किशोरकिशोरीमा शारीरिक तथा मानसिक तनाव कम हुनुका साथै स्वास्थ्य र शैक्षिक अवस्थामा सुधार आएको, स्वास्थ्य संस्थामा सेवा लिन जाने किशोरकिशोरीको संख्या बढेको तथा स्वास्थ्य संस्थाप्रति उनीहरूको अपनत्व बढेको पाइएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरू पनि किशोरकिशोरीका समस्या र आवश्यकताप्रति थप सचेत र संवेदनशील बनेको जनाइएको छ।
कार्यक्रममा सहभागी सरोकारवालाले किशोरकिशोरीमैत्री सूचना कक्षमा नयाँ–नयाँ तथा उपयोगी पुस्तक थप गर्दै लैजानुपर्ने सुझाव दिएका छन्। यसअघि कार्यक्रम सञ्चालन भएका विद्यालय, समुदाय तथा स्वास्थ्य संस्थामा नियमित फलोअप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्।
परियोजनामार्फत निर्माण भएका संरचनालाई दिगो र व्यवस्थित बनाउन आवश्यक व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सहभागीको सुझाव थियो। परियोजनाबाट प्राप्त उपलब्धिलाई निरन्तरता दिन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र समुदायबीचको समन्वय अझ बलियो बनाउनुपर्नेमा समेत जोड दिइएको छ।
कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठको अध्यक्षतामा भएको थियो। सचिव श्रेष्ठले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई संस्थाले सकारात्मक रूपमा लिने बताउँदै संस्थाको क्षमताले भ्याएसम्म सुझाव कार्यान्वयन गर्दै जाने बताउनुभयो।
कार्यक्रममा नगरउपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा अध्यक्ष, शाखा प्रमुख, स्वास्थ्यकर्मी, किशोरकिशोरी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।