बर्दिया । बारबर्दिया नगरपालिका–७ सिउनियास्थित आधारभूत स्वास्थ्य केन्द्रमा नवनिर्मित एकीकृत किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन सञ्चालनमा ल्याइएको छ। किशोरकिशोरीलाई सुरक्षित, सहज र गोपनीय वातावरणमा यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको भवन सोमबार एक कार्यक्रमबीच स्वास्थ्य संस्थालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) बर्दियाको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरणअन्तर्गत भवन निर्माण गरिएको हो।
भवन निर्माणका लागि कुल ४६ लाख ४५ हजार ४ सय ५८ रुपैयाँ २० पैसा खर्च भएको जनाइएको छ। निर्माण कार्य २०८३ भदौ २८ गते सम्पन्न भएको हो।
नवनिर्मित भवनको हस्तान्तरण समारोहमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सुनिता नेपाली, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, कोइका नेपालका कन्ट्री डाइरेक्टर मुध्यन फोङ, प्लान इन्टरनेशनल कोरियाका प्रतिनिधि स्याङ्योङ पार्क, प्लान इन्टरनेशनल नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक श्रर्जना गुरुङलगायतको सहभागिता थियो।
कार्यक्रममा परियोजनाको संक्षिप्त जानकारी प्रस्तुत गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गरिएको थियो। त्यसपछि कोइका, प्लान इन्टरनेशनल नेपाल र आरकेजेएसका प्रतिनिधिले भवन स्वास्थ्य संस्था तथा नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
किशोरावस्थामा देखिने शारीरिक, मानसिक तथा यौन एवं प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका विषयमा किशोरकिशोरीले सहज रूपमा जानकारी, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले भवन निर्माण गरिएको जनाईएको छ। विशेषगरी किशोरकिशोरीले आफ्ना व्यक्तिगत तथा संवेदनशील स्वास्थ्य समस्याका बारेमा खुलेर कुरा गर्न सक्ने गोपनीय र मैत्रीपूर्ण वातावरण निर्माण गर्नु भवनको मुख्य उद्देश्य रहेको छ।
स्वास्थ्य सेवामा किशोरकिशोरीको पहुँच बढाउनुका साथै सही सूचना र परामर्शको अभावका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणमा पनि यस्तो सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय, स्वास्थ्य संस्था, स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्यबाट किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न सकिने कार्यक्रममा जोड दिइएको थियो।
त्यस्तै स्वास्थ्य कार्यालय बर्दिया, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश, नगरपालिका तथा वडा कार्यालयका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, किशोरकिशोरी तथा बाल क्लबका प्रतिनिधि र सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो।
बारबर्दिया नगरपालिकामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको विस्तारसँगै सिउनियामा निर्माण भएको यो भवनले स्थानीय किशोरकिशोरीलाई आफ्नै समुदायमा आवश्यक स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गर्ने अवसर थप सहज बनाउने विश्वास गरिएको छ। भवनको प्रभावकारी सञ्चालन र सेवा निरन्तरताका लागि स्वास्थ्य संस्था, स्थानीय सरकार तथा सम्बन्धित साझेदार संस्थाबीचको समन्वयलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ।