बर्दिया। बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) सुदृढीकरण र घटना प्रतिवेदन प्रणालीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ।
सुरक्षित भविष्य परियोजना (Safe Future Project) अन्तर्गत २०८३ कार्तिक १९ गते बारबर्दिया नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
बारबर्दिया नगरपालिका स्तरीय बाल अधिकार समितिका संयोजक तथा नगर उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख छबिलाल थारु, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू, किशोरी क्लब तथा बाल क्लबका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र बाल अधिकार समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बाल अधिकार, बाल संरक्षणका सवाल, जोखिममा रहेका बालबालिकाको पहिचान, तथ्याङ्क व्यवस्थापन तथा सूचना प्रणालीको प्रभावकारी प्रयोगलगायतका विषयमा छलफल गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाका कार्यालय प्रमुख युवराज पोखरेलले बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली र घटना प्रतिवेदन प्रणालीसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले जोखिममा रहेका बालबालिकाको तथ्याङ्क बाल कल्याण अधिकारी तथा महिला तथा बालबालिका शाखामा व्यवस्थित रूपमा राख्नुपर्ने बताउनुभयो।
बालबालिकामाथि हुन सक्ने जोखिम तथा हिंसाका घटनाको पहिचान, अभिलेखीकरण, प्रतिवेदन र आवश्यक सहयोगका लागि स्थानीय तहले गर्न सक्ने काम तथा अपनाउनुपर्ने प्रक्रियाका बारेमा समेत उहाँले जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सुरक्षित भविष्य परियोजनाका कार्यक्रम सुपरभाइजर डम्मर परियारले परियोजनाको उद्देश्य, सञ्चालन भइरहेका गतिविधि तथा बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन परियोजनाले गरिरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो।
बालबालिकाको अधिकार संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान तथा आवश्यक सहयोगको सुनिश्चितताका लागि स्थानीय तहका सम्बन्धित निकायबीच समन्वय र सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।